धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सभामुख रामअशिष यादवले त्यसका लागि आज प्रदेशसभा बैठक आह्वान गरेका छन्।
बैठकको कार्यसूची तय गर्न आज नै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखले जानकारी दिएका छन्। समितिले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावलाई बैठकको कार्यसूचीमा समावेश गर्नेछ।
सरकारलाई समर्थन गर्दै आएका नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले साथ छाडेपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्। उनले यससम्बन्धी औपचारिक पत्र बुधबार नै प्रदेशसभा सचिवालयमा पठाइसकेका छन्।
विश्वासको मत जुटाउन मुख्यमन्त्री यादव विभिन्न दलका नेताहरूसँग छलफलमा छन्। मतदान हुनुअघिसम्म सहमतिको प्रयास जारी रहने उनको भनाइ छ।
यसअघि असोज २५ गते एमालेका चार मन्त्रीले सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यसपछि कात्तिक २० गते नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले पनि राजीनामा दिएर समर्थन फिर्ता लिएपछि सरकार थप संकटमा परेको हो।
१०७ सदस्यीय मधेस प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक छ। हाल कांग्रेसका २२, एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक-एक सांसद छन्।
कांग्रेसका २२ सांसद मात्रै सरकारको पक्षमा रहेकाले मुख्यमन्त्री यादवलाई बहुमत पुर्याउन थप ३२ सांसदको समर्थन जुटाउनुपर्ने चुनौती छ। शनिबारको मतदानले उनको सरकारको भविष्य निर्धारण गर्नेछ।