काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका ६ जना मन्त्री एकै महिनामा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यक्रममा सहभागी हुन विदेश भ्रमणमा निस्किएका छन्। जलवायु परिवर्तनदेखि अन्तर्राष्ट्रिय सुरक्षा र प्रहरी सहकार्यासम्मका विषयमा नेपालको धारणा राख्न भन्दै मन्त्रीहरू विदेश पुगेका हुन्।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन पाँच मन्त्री टर्किएको अन्ताल्या पुगेका थिए। त्यस्तै, गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन्।
कोप–३१ मा परराष्ट्रमन्त्री शिशिर खनाल, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, शिक्षामन्त्री सस्मित पोखरेल र स्वास्थ्यमन्त्री निशा मेहता सहभागी भएका हुन्।
सरकारले परराष्ट्रमन्त्री खनाल र वातावरणमन्त्री चौधरीलाई नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जिम्मेवारी दिएको थियो। सम्मेलनको उद्घाटनसहित विभिन्न उच्चस्तरीय कार्यक्रममा सहभागी भएका खनालले जलवायु संकटबाट प्रभावित नेपालजस्ता मुलुकलाई अनुदानमा आधारित तथा सहुलियतपूर्ण जलवायु वित्त उपलब्ध गराउनुपर्ने विषय उठाएका छन्।
अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित सत्रहरूमा नेपालको धारणा राखेका छन्। जलवायु वित्त परिचालन र आर्थिक विकासका चुनौतीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नु उनको भ्रमणको प्रमुख उद्देश्य रहेको जनाइएको छ।
वातावरणमन्त्री चौधरीले हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षण, जलवायु वित्तमा सहज पहुँच, हानि तथा नोक्सानीको क्षतिपूर्ति र स्थानीय समुदायको सहभागितामा जलवायु कार्य अघि बढाउनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएकी छन्।
उनले नेपालको हिमाली क्षेत्रको संरक्षण र उत्थानशीलताका लागि आवश्यक लगानीबारे पनि धारणा राखेकी थिइन्। हिमाली कृषि, जडीबुटी उत्पादन तथा स्थानीय उत्पादनको बजार विस्तारका लागि पहिचान गरिएका ३५ प्राथमिकता प्राप्त क्षेत्रमा चार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी आवश्यक रहेको उनको भनाइ थियो।
स्वास्थ्यमन्त्री निशा मेहताले जलवायु परिवर्तनलाई स्वास्थ्य क्षेत्रको गम्भीर चुनौतीका रूपमा व्याख्या गर्दै स्वास्थ्यलाई जलवायु कार्ययोजनाको केन्द्रमा राख्नुपर्ने बताएकी थिइन्। कोप–३१ पछि उनी श्रीलंकाको कोलम्बोमा आयोजित बिमस्टेकको पहिलो स्वास्थ्यमन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्किएकी छन्।
शिक्षामन्त्री सस्मित पोखरेल भने सम्मेलनका कार्यक्रमहरूमा सहभागी हुन शुक्रबार टर्किए प्रस्थान गरेका छन्।
यता गृहमन्त्री सुधन गुरुङ यूएई सरकारको निमन्त्रणामा विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन दुबई पुगेका छन्। सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, आधुनिक सुरक्षा प्रविधि, साइबर अपराध, डिजिटल ठगी, क्रिप्टो कारोबार, वित्तीय अपराध तथा सीमा सुरक्षाजस्ता विषयमा छलफल भइरहेको छ।
भ्रमणका क्रममा गुरुङले विभिन्न देशका सुरक्षा अधिकारी तथा आन्तरिक मामिलासम्बन्धी मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। मानव बेचबिखन, मानव तस्करी र साइबर अपराध नियन्त्रणमा प्राविधिक सहयोग तथा अनुभव आदानप्रदान पनि भ्रमणको एजेन्डामा रहेको उनको सचिवालयले जनाएको छ।
मन्त्रीहरू अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनु कूटनीतिक सम्बन्ध विस्तार र नेपालको राष्ट्रिय हितका विषय उठाउन आवश्यक हुन सक्छ। तर एकै महिनामा सरकारका ६ मन्त्री विदेश भ्रमणमा रहँदा भ्रमणको खर्च, प्रतिफल र देशले प्राप्त गर्ने ठोस उपलब्धिबारे प्रश्न उठ्नु स्वाभाविक छ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति देखिनु मात्रै उपलब्धि होइन। त्यहाँ उठाइएका मुद्दा व्यवहारमा कति कार्यान्वयन हुन्छन्, नेपालले कस्तो सहयोग प्राप्त गर्छ र त्यसबाट नागरिकको जीवनमा के परिवर्तन आउँछ भन्ने विषयले नै भ्रमणको वास्तविक सफलता मापन गर्नेछ।