काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै उनले सूर्यदेव र छठी माताको आराधनाले सबैमा सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
छठ पर्वले परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउने बताएका छन्।
उदाउँदो सूर्यलाई मात्र नभई अस्ताउँदो सूर्यलाई समेत उत्तिकै श्रद्धाका साथ अर्घ्य दिने परम्पराले जीवनको गहिरो दर्शन र प्रकृतिप्रतिको सम्मान झल्काउने उनको भनाइ छ।
चार दिनसम्म मनाइने छठ पर्वमा पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई र चौथो दिन उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिएर पूजा गर्ने धार्मिक विधि रहेको छ।
प्रधानमन्त्री शाहले छठले नेपाली समाजमा आपसी सद्भाव, एकता र सहअस्तित्वको भावना थप बलियो बनाउने विश्वास पनि व्यक्त गरेका छन्।
मैथिली भाषामै शुभकामना दिँदै उनले भनेका छन्, ‘छैठके बहुत रास शुभकामना दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि।’
अन्त्यमा उनले सूर्यदेव र छठी माताको कृपा सम्पूर्ण देशवासीमा रहिरहोस् भन्ने मंगलकामना गरेका छन्।