काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपाली समाजमा विद्यमान जातीय, वर्गीय र लैङ्गिक विभेद तथा सामाजिक विकृति अन्त्य गर्दै राष्ट्रिय एकता र सद्भाव मजबुत बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
छठ पर्व २०८३ को अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मौलिक संस्कृति संरक्षण, सामाजिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणमा यस पर्वको विशेष महत्त्व रहेको बताएका हुन्।
सूर्य, जल र पृथ्वीप्रति श्रद्धा प्रकट गर्दै मनाइने छठले प्रकृतिको सम्मान, पर्यावरणीय चेतना र पारिवारिक एकताको सन्देश दिने उनको भनाइ छ। स्वच्छता, संयमता, सात्विक भोजन र धार्मिक निष्ठासँग जोडिएको यस पर्वले सुख, शान्ति, आरोग्य तथा समृद्धिको कामना गर्ने परम्परा बोकेको उनले उल्लेख गरेका छन्।
राष्ट्रपति पौडेलले छठको धार्मिक विधिअनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्पराले सूर्यबिना पृथ्वीमा जीवन सम्भव नहुने प्राकृतिक सत्यलाई स्मरण गराउने बताएका छन्। विधिपूर्वक व्रत र पूजा गरेमा परिवारको कल्याण हुने तथा दुःखकष्ट हट्ने धार्मिक विश्वाससमेत रहेको उनले सन्देशमा उल्लेख गरेका छन्।
विशेषगरी तराई–मधेसमा परम्परागत रूपमा मनाइँदै आएको छठ पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा समेत विस्तार हुनु नेपाली समाजको सांस्कृतिक एकताको सकारात्मक पक्ष भएको राष्ट्रपति पौडेलले बताएका छन्।
यसैबीच, छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर विशेष पूजा गरिँदैछ। यसका लागि नदी, पोखरी, ताल तथा जलाशयका किनारमा आकर्षक घाटहरू सजाइएको छ।
खरना विधि सम्पन्न गरेका व्रतालुहरू आज दिनभर निराहार उपवास बसेर साँझको पूजामा सहभागी हुँदैछन्। ठेकुवा, भुसवा, नरिवल, केरा, उखुलगायतका सामग्रीले सजिएका डाला र प्रसादसहित व्रतालुहरू घाटमा पुगेर सूर्यदेव तथा छठी माताको आराधना गर्ने तयारीमा छन्।
राष्ट्रपति पौडेलले नेपाली समाजमा रहेका सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य भई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्तिमा छठी माता तथा सूर्य भगवान्को कृपा रहिरहोस् भन्ने कामना गरेका छन्।