वीरेन्द्रनगर । कर्णाली राजमार्गमा राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध हटाएर २४ सै घण्टा यातायात सेवा खुला गर्न व्यवसायी र स्थानीयले माग गरेका छन्। सडकको अवस्था सुधार गर्नुको सट्टा रातिको आवागमन रोक्दा कर्णालीवासीले अनावश्यक दुःख पाएको उनीहरूको गुनासो छ।
सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै सरकारले कर्णाली राजमार्गमा अत्यावश्यकबाहेकका सवारीसाधनलाई राति सञ्चालन गर्न रोक लगाएको छ। तर केही व्यवसायीले नियम छल्दै रातिको समयमा पनि सवारी चलाउन थालेपछि प्रहरीले निगरानी र कारबाहीलाई कडा बनाएको छ।
नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले आइतबार यातायात व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रतिबन्धको पालना गर्न निर्देशन दिएको छ।
कार्यालय प्रमुख एसपी मुकुन्दप्रसाद रिजालले सरकारी निर्णयविपरीत रातिको समयमा लामो दूरीका सवारीसाधन सञ्चालन गरेको पाइए सवारीधनी र चालकलाई कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। सरकारले प्रतिबन्ध हटाउने निर्णय नगरेसम्म कुनै बहानामा राति सवारी चलाउन नपाइने उनको भनाइ छ।
उनका अनुसार साँघुरो सडक, जोखिमपूर्ण मोड, खाल्डाखुल्डी र भिरालो भूगोलका कारण कर्णाली राजमार्गमा दुर्घटनाको जोखिम उच्च छ। चाडपर्वपछि यात्रुको चाप बढेको मौका छोपेर केही व्यवसायीले प्रहरीलाई छल्दै सवारी चलाउने र विरोधस्वरूप सडक अवरुद्ध गर्ने गतिविधिसमेत गरेको उनले बताएका छन्।
तर यातायात व्यवसायी भने सरकारी निर्णयप्रति असन्तुष्ट छन्। सुर्खेत देउती नागरिक यातायात व्यवसायी समितिका अध्यक्ष कमल खड्काले सडकको अवस्था र सवारीसाधनको प्राविधिक पक्ष सुधार गर्नुको सट्टा रातिको यातायात बन्द गर्नु कर्णालीवासीमाथिको विभेद भएको टिप्पणी गरेका छन्।
उनका अनुसार एकै दिनमा सुर्खेतबाट जुम्ला पुगेर फर्किन सकिने यात्रासमेत प्रतिबन्धका कारण तीन दिनसम्म लम्बिने अवस्था छ। अन्य क्षेत्रमा पनि दुर्घटना भइरहेकाले कर्णालीमा मात्रै यस्तो प्रतिबन्ध लगाउनु न्यायोचित नभएको उनको तर्क छ।
समाजसेवी मनराज देवकोटाले पनि कर्णालीमा विगतका ठूला दुर्घटना दिउँसोको समयमा भएका उदाहरण प्रस्तुत गर्दै रातिको यातायात रोक्नु समस्याको दीर्घकालीन समाधान नभएको बताएका छन्। सडक स्तरोन्नति, सवारीसाधनको प्राविधिक परीक्षण र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्दै २४ घण्टा यातायात सञ्चालन गर्नुपर्ने उनको माग छ।
सुर्खेतदेखि दैलेख, कालीकोट, जुम्ला, मुगु हुँदै हुम्लासम्मको आवागमन जोड्ने कर्णाली राजमार्ग यस क्षेत्रको प्रमुख जीवनरेखा हो। यसै मार्गमा निर्भर व्यापार, पर्यटन, स्वास्थ्य सेवा र खाद्यान्न आपूर्तिसमेत रात्रिकालीन प्रतिबन्धबाट प्रभावित हुँदै आएको स्थानीयको भनाइ छ।
राति यात्रा गर्न नपाउँदा यात्रु बीच बाटोमै रोकिनुपर्ने, होटलमा अतिरिक्त खर्च गर्नुपर्ने र निर्धारित समयमा गन्तव्य पुग्न नसक्ने समस्या रहेको उनीहरूले बताएका छन्।
यातायात सञ्चालनको समयसीमा र सडक सुरक्षाबीच देखिएको यही विवादले कर्णालीमा सुरक्षित तथा सहज आवागमनको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएको छ।