काठमाडौँ । नेपाली कांग्रेसले पार्टी संगठनलाई डिजिटल प्रविधिसँग जोड्ने अभियान भक्तपुरको सूर्यविनायक नगरपालिकाबाट सुरु गरेको छ। संगठनात्मक गतिविधि, सूचना प्रवाह र कार्यकर्ता समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले अभियान अघि बढाइएको हो।
कांग्रेसले ललितपुरका गोदावरी र महालक्ष्मी नगरपालिकामा पनि भोलिदेखि अभियान सञ्चालन गर्ने जनाएको छ। तीनवटै नगरपालिकामा अभियानको जिम्मेवारी केन्द्रीय सदस्य तीर्थ लामालाई दिइएको छ।
अभियानअन्तर्गत प्रत्येक वडामा डिजिटल प्रतिनिधि चयन गरिनेछ। उनीहरूमार्फत सामाजिक सञ्जालमा पार्टीका गतिविधि, निर्णय र सन्देशलाई व्यवस्थित रूपमा कार्यकर्ता तथा शुभेच्छुकसम्म पुर्याउने योजना छ।
त्यस्तै, क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई समेटेर प्रत्येक पालिकामा आधिकारिक ह्वाट्सएप समूह निर्माण गरिनेछ। यसबाट केन्द्रका निर्णय, निर्देशन र कार्यक्रम स्थानीय तहसम्म छिटो पुर्याउन सहयोग पुग्ने कांग्रेसको अपेक्षा छ।
अभियानलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्य लामाले सम्बन्धित नगर सभापति र वडा सभापतिहरूसँग प्रत्यक्ष भेटघाट तथा समन्वय गर्नेछन्।
केन्द्रीय सदस्य लामाका अनुसार पार्टी संगठनलाई प्रविधिमैत्री बनाउँदै सूचना सम्प्रेषण र आन्तरिक समन्वयलाई चुस्त बनाउने उद्देश्यले अभियान सुरु गरिएको हो।