काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका छन्। निर्वाचन जितेको आधारमा सरकारले नागरिक अधिकार र कानुनी शासनमाथि मनपरी गर्न नपाउने उनको भनाइ छ।
२९ कात्तिकमा स्याङ्जामा आयोजित नेपाली कांग्रेस क्षेत्र नम्बर २ (क) प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पौडेलले लोकतन्त्रका पक्षमा आवाज उठाउने शक्तिलाई दबाउने प्रयास भइरहेको आरोप लगाए।
उनले कांग्रेसलाई कमजोर बनाएर लोकतान्त्रिक व्यवस्था नै कमजोर पार्न खोजिएको दाबी गर्दै तर्साएर शासन गर्ने प्रवृत्ति अन्त्य गर्न सरकारलाई आग्रह गरे।
अदालतमा मुद्दा पर्दैमा पार्टी वा सरकारको नेतृत्व स्वतः परिवर्तन नहुने उल्लेख गर्दै पौडेलले राजनीतिक विषयलाई कानुनी प्रक्रियासँग जोडेर भ्रम फैलाउन नहुने धारणा राखे। मुद्दा दर्ता हुँदैमा दुई जना सभापति नहुने उनको स्पष्टोक्ति थियो।
वर्तमान सरकारले नागरिकका वास्तविक समस्या सम्बोधन गर्न नसकेको आरोप लगाउँदै उनले संविधान संशोधन, भोटेकोशी बाढीपीडितको अवस्था र सुकुम्बासी समस्यामा सरकारको कार्यशैली अपरिपक्व देखिएको बताए। सरकारप्रति जनविश्वास कमजोर हुँदै गएको उनको दाबी थियो।
निर्वाचनमा पराजित भए पनि कांग्रेसको राजनीतिक विचार पराजित नभएको जिकिर गर्दै पौडेलले पार्टीलाई राजनीतिको विश्वविद्यालयका रूपमा व्याख्या गरे।
उनले आगामी मंसिर १ गतेदेखि स्थानीय तह निर्वाचनलाई लक्षित गरी कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्न लागेको जानकारीसमेत दिए।