काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मेटमणि चौधरीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि जनतामाथि शोषण गरेको र राज्यशक्तिको दुरुपयोग गरेको गम्भीर आरोप लगाएका छन्। उनले सरकारको कार्यशैलीलाई ‘आतंककारी’ संज्ञा दिँदै जनताले परिवर्तनको अनुभूति गर्न नपाएको टिप्पणी गरे।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार स्पष्ट विचार, नीति र सिद्धान्तभन्दा पुराना राजनीतिक दलप्रतिको आक्रोश र बदलाको भावनाबाट अघि बढेको आरोप लगाए।
उनका अनुसार पुराना दलभित्रको गुटबन्दी र असन्तुष्टिका कारण जनताले विकल्प रोजेका थिए। तर, विकल्प बनेको सरकारले पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको उनको दाबी छ।
चौधरीले सरकारको पहिलो निशाना सुकुम्बासी र विपन्न नागरिक बनेको आरोप लगाए। गरिबका समस्या समाधान गर्नुको सट्टा बस्तीमा डोजर चलाएर सरकारले राज्य धनीहरूको मात्रै हो भन्ने सन्देश दिन खोजेको उनको टिप्पणी थियो।
महँगी र कर नीतिमाथि पनि उनले सरकारलाई कठोर प्रश्न गरे। शिक्षा, स्वास्थ्य र विद्युत्मा भ्याट लगाइएको तथा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको उनको आरोप छ। १ हजार ८ सय रुपैयाँ पर्ने चामलको बोराको मूल्य करिब ३ हजार पुगेको र ग्यासको अभावसमेत देखिएको भन्दै उनले सरकार जनताको आर्थिक पीडाप्रति संवेदनशील नभएको बताए।
यति मात्र होइन, निजी क्षेत्र, प्रशासन र सञ्चारमाध्यमसमेत सरकारको कार्यशैलीबाट त्रसित भएको चौधरीको दाबी छ। पूर्वप्रधानमन्त्री र पूर्वप्रधानन्यायाधीश भइसकेका व्यक्तिलाई समेत मध्यरातमा पक्राउ गरिएको प्रसंग उठाउँदै उनले सरकारको कार्यशैलीलाई अधिनायकवादी प्रवृत्तिसँग तुलना गरे।
अर्थमन्त्री स्वर्णिम वाग्लेबाट आर्थिक सुधारको अपेक्षा गरिए पनि अर्थतन्त्र सुधारका लागि ठोस काम हुन नसकेको उनको आरोप थियो।
यसैबीच, कम्युनिष्ट पार्टीहरूबीच एकताको सम्भावनाबारे बोल्दै चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओली पदमा रहुन्जेल कम्युनिष्ट एकता सम्भव नहुने दाबी गरे। विगतमा पनि ओलीकै कारण एकता प्रक्रिया भत्किएको उल्लेख गर्दै उनले फेरि एकताको प्रयास भए त्यसलाई समेत सफल हुन नदिइने आशंका व्यक्त गरे।
सरकारको आलोचना गर्दै चौधरीले उठाएका यी आरोपले बालेन नेतृत्वको सरकारको नीति, महँगी नियन्त्रण, सुकुम्बासी व्यवस्थापन र नागरिक अधिकारका विषयमा राजनीतिक बहस थप चर्काउने देखिन्छ।