काठमाडौं । ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको आधारमा माछापुच्छ्रे बैंकले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ।
बैंकले इन्फोसिस फिनिकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा प्लाटिनम अवार्ड प्राप्त गरेको छ। बैंकले ग्राहकको खाता खोल्ने प्रक्रिया लगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाउन गरेको पहलकदमीका लागि उक्त सम्मान प्रदान गरिएको हो।
विश्वभरबाट ९ विधामा ५०० भन्दा बढी आवेदनहरू परेको यस संस्करणको छनोटमा बैंकले डिजिटल रूपान्तरण र ग्राहक सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेको पुष्टि भएको छ।
यसैगरी, बैंकले अन्तर्राष्ट्रिय सम्मानस्वरूप ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ पुरस्कारसमेत प्राप्त गरेको छ। इन्डियन चेम्बर अफ कमर्सद्वारा नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६ मा बैंकलाई सो पुरस्कार प्रदान गरिएको हो।
यो पुरस्कार बैंकले कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा तरलता जोखिम व्यवस्थापनका क्षेत्रमा गरेको सुदृढ प्रयासको कदरस्वरूप दिइएको हो।
यसअघि पनि बैंकले भिसा लिडरसिप कन्क्लेभ अवार्ड्स, इन्फोसिस फिनिकल इनोभेसन अवार्ड्सका अघिल्ला संस्करण तथा राइजिङ स्टार इन एसेट क्वालिटी अवार्डजस्ता थुप्रै अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरिसकेको छ।