काठमाडौँ । भगवान् राम र माता सीताको जन्मभूमिलाई रेलमार्गबाट जोड्ने उद्देश्यसहित अयोध्या–जनकपुरधाम रेल सेवा सञ्चालनको तयारी गरिएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत संयुक्त रूपमा सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
करिब ६०४ किलोमिटर लामो यो रेल सेवाले धार्मिक पर्यटन प्रवर्द्धन गर्दै नेपाल र भारतबीचको सीमापार आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। विशेषगरी रामायण सर्किटसँग जोडिएका धार्मिक तथा सांस्कृतिक गन्तव्यमा पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ।
निर्धारित तालिकाअनुसार रेल हरेक शनिबार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ भने सोमबार अयोध्या क्यान्टबाट जनकपुरधाम फर्कनेछ। साप्ताहिक रूपमा सञ्चालन हुने सेवाले तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणलाई यात्रा गर्न सहज बनाउनेछ।
रेलमार्गले जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुर हुँदै अयोध्या धामलाई जोड्नेछ।
यो सेवा धार्मिक यात्रामा मात्र सीमित नरही व्यापार, अध्ययन र पारिवारिक आवागमनका लागि समेत उपयोगी हुने अपेक्षा गरिएको छ। रेल सञ्चालनले दुवै देशका नागरिकबीच सांस्कृतिक तथा सामाजिक सम्बन्ध विस्तारमा पनि सहयोग पुग्ने देखिन्छ।
यसबाट जनकपुरधामसहित रेलमार्ग आसपासका क्षेत्रमा होटल, यातायात, पर्यटन व्यवसाय, स्थानीय व्यापार र हस्तकलाको बजार विस्तार हुने सम्भावना छ। पर्यटकको आवागमन बढेसँगै स्थानीयस्तरमा रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।