काठमाडौँ । कुशल भुर्तेल र युवराज सिंह सम्राको विस्फोटक ब्याटिङ तथा दिनेश खरेलको धारिलो बलिङमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई ५५ रनले हराएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा पोखराले पहिले ब्याटिङ गर्दै तीन विकेटको क्षतिमा २२४ रन बनायो। यो एनपीएल इतिहासकै अहिलेसम्मको सर्वाधिक योगफल हो।
२२५ रनको लक्ष्य पछ्याएको काठमान्डु १९ ओभरमै १६९ रनमा समेटियो। उसका लागि साहिल पटेलले ३४ र राशिद खानले ३१ रन बनाए। पोखराका बलर दिनेश खरेलले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी टोलीलाई दबाबमा राखे।
पोखराको कीर्तिमानी स्कोरमा कुशल भुर्तेल र युवराज सिंह सम्राको मुख्य योगदान रह्यो। भुर्तेल ९९ रनमा अविजित रहे भने सम्राले ८९ रन जोडे।
यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको पोखराले लिग चरणको अन्तिम खेलमा प्रभावशाली जितसहित प्रतियोगिताको सुखद अन्त्य गरेको छ। सात खेलबाट चार अंक जोडेको पोखरा सातौँ स्थानमा रह्यो।
पोखरासँगको हारले काठमान्डुको क्वालिफायर पुग्ने सम्भावनामा भने धक्का लागेको छ।