काठमाडौं । कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले सिनियर राष्ट्रिय टोलीका खेलाडीसमेत समेट्दै प्रतिस्पर्धात्मक टोली मैदानमा उतार्ने तयारी गरेको छ।
घोषित टोलीमा कप्तान सन्दीपसहित बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिषेक गौतम, रासिद खान, लोकेश बम र नन्दन यादव छन्।
नेपाल समूह ‘बी’ मा परेको छ। यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई प्रतिस्पर्धीका रूपमा रहेका छन्। समूह ‘ए’ मा भने बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्।
प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आफ्नो ‘ए’ टोली सहभागी गराउनेछन्। नेपाल, यूएई र हङकङलाई भने राष्ट्रिय सिनियर टोलीका खेलाडीसमेत सहभागी गराउने अवसर छ।
नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग भिड्नेछ।
दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल नोभेम्बर २९ मा हुनेछ।