काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनायो।
टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले जिम्मेवार ब्याटिङ गर्दै सर्वाधिक ५२ रन जोडे। उनले ५१ बलको सामना गर्दा ३ चौका र एक छक्का प्रहार गरे। सुरुवाती ब्याटरहरू सस्तैमा आउट भएपछि ऐरीले इशान पाण्डेसँग मिलेर इनिङ्स सम्हाले। यी दुईबीच चौथो विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी भयो।
सुदूरपश्चिमको सुरुवात भने निकै कमजोर रह्यो। खेलको पहिलो बलमै रुबेन ट्रम्पलमेनले जर्ज मुन्सेलाई बोल्ड गर्दै लुम्बिनीलाई सफलता दिलाए। त्यसपछि थानुका दबारे ३ रन र विनोद भण्डारी पनि ३ रनमै आउट भए।
विनोदले सुरुवातमै जीवनदान पाए पनि त्यसको फाइदा उठाउन सकेनन्। उनको विकेट अभिषेक गौतमले लिए।
इशान पाण्डेले २७ रन बनाए पनि उनको विकेट पतनपछि सुदूरपश्चिमको इनिङ्स फेरि दबाबमा परेको थियो। थारिन्दु रत्नायके १ रनमा शेर मल्लको बलमा बोल्ड भए। आरिफ शेखले ४ रन मात्रै बनाउन सके भने स्कट कुगेलेइन अन्तिम बलमा रनआउट भए।
कप्तान ऐरी र इशानबाहेक सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
लुम्बिनीका लागि रुबेन ट्रम्पलमेन र शेर मल्लले समान दुई विकेट लिए। अभिषेक गौतम र किशोर महतोले एक–एक विकेट हात पारे।
अब फाइनल प्रवेशको दाबेदारी बलियो बनाउन लुम्बिनीले १०६ रनको लक्ष्य पछ्याउनुपर्नेछ।