काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले लुम्बिनी लायन्सविरुद्ध अर्धशतक पूरा गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि ऐरीले ४५ बलमा ३ चौका र एक छक्काको मद्दतमा अर्धशतक बनाएका हुन्।
उनको अर्धशतक थप रोचक बन्यो। ४९ रनमा खेलिरहेका बेला शेर मल्लको बलमा अम्पायरले उनलाई एलबीडब्ल्यू आउट दिएका थिए। तर, ऐरीले डीआरएसको सहायता लिएपछि निर्णय उल्टियो र उनले क्रिजमा टिकिरहने अवसर पाए।
त्यसको एक बलपछि नै उनले अर्धशतक पूरा गरे।
सुरुवाती विकेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमको इनिङ्स सम्हाल्न ऐरीले इशान पाण्डेसँग महत्वपूर्ण साझेदारी गरेका थिए। चौथो विकेटका लागि यी दुईबीच ६४ रनको साझेदारी भएको थियो।
ऐरीको संयमित ब्याटिङ र डीआरएसबाट पाएको जीवनदान सुदूरपश्चिमका लागि महत्वपूर्ण बनेको छ।