काठमाडौं । नेकपा एमालेले बुधबारदेखि सुरु हुने राष्ट्रिय भेलालाई आगामी स्थानीय निर्वाचनको तयारी र पार्टी संगठन परिचालनमा केन्द्रित गर्ने निर्णय गरेको छ।
मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाको मुख्य एजेन्डा चुनावी तयारी बनाउने निर्णय गरेको हो।
पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार भेलामा स्थानीय निर्वाचनको रणनीति, संगठन सुदृढीकरण र पार्टी पंक्तिलाई सक्रिय बनाउने विषयमा छलफल हुनेछ।
भेलामा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टीको भावी कार्यदिशा र आगामी कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन्। त्यसैगरी वरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकको समसामयिक अवस्था र पार्टीको आगामी कार्यभारबारे आफ्नो कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
यसैबीच, बैठकले आगामी मंसिर ५ गतेका लागि निर्धारित केन्द्रीय कमिटी बैठक एक दिनअघि सारेर मंसिर ४ गते बस्ने निर्णयसमेत गरेको छ।