काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच दुई देशको सम्बन्ध थप विस्तार गर्ने विषयमा छलफल भएको छ।
सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा मंगलबार भएको भेटमा फ्रान्सेली संसद्को तल्लो सदनअन्तर्गत फ्रान्स–नेपाल संसदीयमैत्री समूहकी अध्यक्ष बेआट्रिस पिरोन नेतृत्वको टोली सहभागी थियो।
भेटका क्रममा द्विपक्षीय कूटनीतिक सम्बन्ध, आपसी हित तथा संसदीय सहकार्यलाई प्रभावकारी बनाउने विषयले प्राथमिकता पाएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
दाहालले संसदीयमैत्री समूहको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले नेपाल–फ्रान्स संसदीय सम्बन्ध विस्तारका लागि संघीय संसद्ले आठ सदस्यीय संसदीयमैत्री समूह गठन गरेको जानकारी दिँदै संसदीय अभ्यास र अनुभव आदानप्रदानलाई निरन्तरता दिनुपर्ने बताए।
गत भदौमा आएको विनाशकारी बाढीपछि फ्रान्सेली राष्ट्रपतिले पठाएको समवेदना सन्देश, फ्रान्सको ऐक्यबद्धता र युरोपेली संघमार्फत प्राप्त मानवीय सहयोगप्रति पनि उनले आभार व्यक्त गरे। बाढीमा बेपत्ता भएका चार फ्रान्सेली नागरिकका परिवारप्रति समवेदना प्रकट गर्दै कठिन समयमा फ्रान्सले देखाएको सहयोगको प्रशंसा गरे।
फ्रान्स–नेपाल संसदीयमैत्री समूहकी अध्यक्ष पिरोनले आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा यहाँको वातावरणबाट प्रभावित भएको बताइन्। उनले फ्रान्सेली संसद्मा पनि मैत्री समूह गठन भइसकेको उल्लेख गर्दै दुवै देशका संसद्बीच नियमित संवाद र अभ्यास आदानप्रदान आवश्यक रहेको धारणा राखिन्।