काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप र पत्रकारको श्रम अधिकार हनन भएको भन्दै नेपाल पत्रकार महासंघले सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी धरपकड गरिएको घटना, प्रेस काउन्सिल ऐनसम्बन्धी विवादास्पद अध्यादेश ल्याउने प्रयास तथा सञ्चारमाध्यममाथि बढ्दो अवरोधप्रति असन्तुष्टि जनाउँदै महासंघ आन्दोलनमा उत्रिएको हो।
महासंघले सञ्चारगृहबाट पत्रकारलाई जबरजस्ती हटाउने, श्रम शोषण गर्ने र लोककल्याणकारी विज्ञापनबापतको रकम रोक्का गर्ने कार्यप्रति पनि आपत्ति जनाएको छ। सञ्चारमाध्यममाथि अवरोध पुर्याउनेहरूलाई कारबाही नभएको विषयलाई समेत महासंघले गम्भीर रूपमा उठाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार आन्दोलनका क्रममा मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ। त्यसैगरी मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूलाई पनि मागपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।
यसैगरी मंसिर ५ र ६ गते पेशागत सञ्जाल (पापड) मार्फत छलफल गरिनेछ। मंसिर ७ गते महासंघका जिल्ला शाखाहरूको अगुवाइमा सञ्चारसम्बद्ध संघसंस्थासँग बृहत् छलफल गरी आन्दोलनलाई थप प्रभावकारी बनाउने तयारी छ।
महासंघले प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारको पेशागत तथा श्रम अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब दिने उद्देश्यले यी कार्यक्रम अघि सारेको जनाएको छ।