काठमाडौं । विदेशमा दुःख गरेर कमाएको नेपालीको पसिनामाथि आफ्नै देशका नागरिकले ठगीको धन्दा चलाउँछन् भने उनीहरूलाई संरक्षण होइन, कानुनी कठघरामा उभ्याउनुपर्छ। यही सन्देश दिँदै गृहमन्त्री सुदन गुरुङले दुबईमा नेपाली नागरिकलाई ठगी गर्ने नेपालीमाथि कडा कारबाही गर्न निर्देशन दिएका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणका क्रममा दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तरक्रियामा मन्त्री गुरुङले ठगीमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउन स्पष्ट निर्देशन दिएका हुन्।
कार्यक्रममा सहभागी नेपालीहरूले दुबईमा नेपालीबाटै नेपाली ठगिने घटना बढिरहेको तर संलग्न व्यक्तिहरूलाई कारबाही गर्न नसकिएको भन्दै गुनासो गरेका थिए।
दुबईका लागि नेपाली महावाणिज्यदूत हरि ओडारीले पनि विदेशमा ठगी गर्ने नेपालीमाथि कारबाही अघि बढाउँदा व्यवहारिक तथा नैतिक समस्या आउने गरेको बताएका थिए। राजनीतिक नेतृत्वबाट स्पष्ट निर्देशन पाए कारबाही प्रक्रिया अघि बढाउन सहज हुने उनको भनाइ थियो।
त्यसपछि गृहमन्त्री गुरुङले नेपालीलाई नै ठगी गरेर मुलुकको प्रतिष्ठामा आँच पुर्याउने व्यक्तिमाथि कारबाही गर्न किन हिचकिचाउने भन्दै प्रश्न गरे। उनले ठगीमा संलग्न व्यक्तिको पहिचान गरी कानुनअनुसार कारबाही गर्न कुनै संकोच नगर्न निर्देशन दिए।
विश्व प्रहरी सम्मेलनमा सहभागी हुन यूएई पुगेका गुरुङले भ्रमणका क्रममा त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै नेपाली समुदायका समस्या र गुनासोसमेत सुनेका थिए।
औपचारिक भ्रमण पूरा गरेर उनी स्वदेश फर्किसकेका छन्। विदेशमा श्रम र पसिना बगाइरहेका नेपालीलाई आफ्नै देशका नागरिकबाट हुने ठगीबाट जोगाउन अब निर्देशनसँगै प्रभावकारी कार्यान्वयनको प्रतीक्षा छ।