काठमाडौं । मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको भनिएको संगठित ठगी प्रकरणको अनुसन्धान अब पूर्वमुख्यसचिवसम्म पुगेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी उच्च स्रोतले जनाएको छ।
प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा संकलित कागजात र पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा अर्यालको सम्भावित संलग्नताबारे अनुसन्धान अघि बढाइएको हो। उनी हाल प्रहरीको सम्पर्कमा नरहेको र खोजी भइरहेको स्रोतको दाबी छ।
यसअघि बुधबार सीआईबीले यही प्रकरणमा दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्।
त्यस्तै, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ पनि प्रहरी नियन्त्रणमा छन्।
मलेसिया जाने नेपाली श्रमिकलाई स्वास्थ्य परीक्षण तथा बायोमेडिकल सेवाका नाममा अतिरिक्त शुल्क तिर्न बाध्य पारिएको र त्यसबाट संकलित ठूलो रकम गैरकानुनी रूपमा विदेश पठाइएको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ।
दुई पूर्वमन्त्री र मन्त्रालयका उच्च अधिकारीहरू पक्राउ परिसकेको अवस्थामा पूर्वमुख्यसचिवविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको खबरले प्रकरणको गम्भीरता थप उजागर गरेको छ। यद्यपि अर्यालमाथि लागेको आरोपको पुष्टि अनुसन्धान र न्यायिक प्रक्रियाबाट हुन बाँकी छ।