काठमाडौं । डेविड मलानको शानदार अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनायो।
चितवनका लागि मलानले सर्वाधिक ७१ रन जोडे। ५१ बलको सामना गरेका उनले ९ चौका र २ छक्का प्रहार गरे। कठिन अवस्थामा ब्याटिङ सम्हालेका मलानले सलाउद्दिन खानसँग सातौँ विकेटका लागि ४० रनको महत्त्वपूर्ण साझेदारी गरे।
सलाउद्दिनले १८ र कमल सिंह ऐरीले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। रिजन ढकाल अन्तिम बलमा ३ रन बनाएर रनआउट भए।
सुदूरपश्चिमका बलर स्कट कुगेलेइनले सर्वाधिक ३ विकेट लिए। थारिन्दु रत्नायकेले २ तथा हेमन्त धामी र इशान पाण्डेले समान १ विकेट हात पारे।
फाइनल प्रवेशका लागि दुवै टोलीबीच प्रतिस्पर्धा हुँदैछ। यस खेलको विजेताले उपाधिका लागि लुम्बिनी लायन्ससँग भिड्नेछ।