काठमाडौँ । नगरवासीलाई सहज र सुलभ यातायात सेवा दिने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिकाले करोडौँ रुपैयाँ खर्चेर खरिद गरेका नगरबस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन्। सार्वजनिक रकमबाट किनिएका सात बस लामो समयदेखि प्रयोगविहीन बनेपछि नगरवासीले समेत चासो व्यक्त गरेका छन्।
उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चारवटा ४१ सिटे र तीनवटा ३६ सिटे बस गरी सात बस ३ करोड ५८ लाख ११ हजार ४१५ रुपैयाँमा खरिद गरेको थियो। तर, सञ्चालनमा देखिएको आर्थिक समस्याका कारण बसहरू अहिले बसपार्कमै थन्किएका छन्।
उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार सुरुमा महिला सहचालक राखेर आफैँले बस सञ्चालन गरिएको थियो। खर्च धान्न कठिन भएपछि बस सञ्चालन र बसपार्क व्यवस्थापनका लागि ठेक्का आह्वान गरिएको थियो। तर, घाटा भएको भन्दै ठेकेदारले बस सञ्चालन गर्न छाडेपछि ती बस प्रयोगविहीन बनेका हुन्।
बस पुनः सञ्चालन गर्ने विषयमा अध्ययन गर्न वडा नं. ४ का अध्यक्ष गोपाल पुनको संयोजकत्वमा समिति गठन गरिए पनि हालसम्म प्रतिवेदन बुझाइएको छैन। समितिका संयोजक पुनका अनुसार लामो समयदेखि थन्किएका बसलाई पुनः सञ्चालनयोग्य बनाउन लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ।
नगरवासीलाई सुविधा दिने उद्देश्यले खरिद गरिएका बस प्रयोगमा आउन नसक्दा सार्वजनिक लगानीको उपलब्धिमाथि प्रश्न उठेको छ। नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले विपन्न वर्गका लागि आएको अनुदानबाट खरिद गरिएका बस थन्किनु दुःखद भएको बताएका छन्।