काठमाडौं । भगवान् विष्णुको विशेष आराधना गरिने हरिबोधिनी एकादशीका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका नारायण मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ। बिहानैदेखि दर्शन र पूजाआजाका लागि मन्दिर पुग्नेहरूको घुइँचो बढेको हो।
धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीमा क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजै जाग्ने विश्वास गरिन्छ। यही अवसरमा चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण गरी उपत्यकाका चार नारायण मन्दिरमा विशेष चहलपहल देखिएको छ।
एकैदिन चार नारायणको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वासका कारण टाढाटाढाबाट समेत भक्तजन दर्शनका लागि पुगेका छन्। चारवटै मन्दिर पुग्न नसक्नेहरू बूढानीलकण्ठस्थित नारायणस्थानमा दर्शन गर्न पुगेका छन्।
बूढानीलकण्ठ नारायणस्थानमा राति १ बजेदेखि नै भक्तजन आउन थालेपछि मन्दिर बिहान १ः३० बजेदेखि दर्शनका लागि खुला गरिएको महन्त निगमानन्द स्वामीले जानकारी दिए। बिहान ६ बजेसम्म हजारौँ भक्तजनले दर्शन तथा विशेष पूजा गरिसकेको उनले बताए।
मठका अनुसार आज पाँच लाखभन्दा बढी भक्तजन आउन सक्ने अनुमानसहित व्यवस्थापन गरिएको छ। विशेष पूजाका लागि बिहान १ः३० देखि ८ः१५ बजेसम्म मन्दिर दर्शनार्थीका लागि बन्द राख्ने कार्यक्रमसमेत तय गरिएको थियो।
बूढानीलकण्ठमा हरिबोधिनी एकादशीदेखि मङ्सिर ८ गते कार्तिक शुक्ल पूर्णिमासम्म विशेष धार्मिक मेला सञ्चालन हुँदैछ। जलकुण्डमाथि शयन गरिरहेको भगवान् नारायणको विशाल मूर्ति यहाँको प्रमुख धार्मिक आकर्षण हो। मठले आयोजना गरेको श्रीमद्भागवत कथा वाचन तथा धार्मिक महोत्सव पनि मङ्सिर ८ गतेसम्म जारी रहनेछ।
यसैगरी, नारायणहिटी दरबार क्षेत्रको चतुर्व्यूह नारायण, हाँडीगाउँ, हनुमानढोका, पशुपति क्षेत्र र गोकर्णेश्वरको नारायणटारस्थित मन्दिरमा पनि भक्तजनको उल्लेख्य उपस्थिति छ। उपत्यकाबाहिरका विभिन्न नारायण मन्दिरमा समेत विशेष पूजाआजा भइरहेको छ।