काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न टिकट नपाएपछि क्रिकेट समर्थकहरू त्रिवि क्रिकेट मैदान परिसर पुगेका छन्। फाइनलको टिकट बिक्री खुलेको केही मिनेटमै सकिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
क्यानका सचिव पारस खड्काले फाइनल खेलको टिकट बिक्री सुरु हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्ने प्रयास गरेको जानकारी दिएका छन्।
क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै त्रिवि क्रिकेट मैदानको सीमित क्षमताका कारण मागअनुसार टिकट उपलब्ध गराउन नसकिएको स्पष्ट पारेको छ। अनलाइनमा टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएको क्यानको दाबी छ।
टिकट खरिद गर्न नपाएका दर्शकमा परेको असुविधाप्रति क्षमा माग्दै क्यानले नेपाली क्रिकेट र एनपीएलप्रति समर्थकले देखाएको उत्साहप्रति आभार व्यक्त गरेको छ।
साथै, मैदानमा उपस्थित भएर खेल हेर्न नपाउने समर्थकलाई आधिकारिक अनलाइन तथा प्रसारण प्लेटफर्ममार्फत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको फाइनल हेर्न क्यानले आग्रह गरेको छ।
फाइनल खेलका लागि देखिएको अत्यधिक मागले नेपाली क्रिकेटप्रति दर्शकको बढ्दो आकर्षण देखाएको छ। तर, सीमित टिकट र ठूलो संख्यामा इच्छुक दर्शकका कारण धेरै समर्थक भने मैदानमै पुगेर खेल हेर्ने अवसरबाट वञ्चित भएका छन्।