काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय बाजुराले मतदाता नामावली अद्यावधिक गर्दै ५८९ जनाको नाम सूचीबाट हटाएको छ।


दोहोरो नाम दर्ता भएका र मृत्यु भइसकेका मतदाताको विवरण हटाएर आगामी निर्वाचनका लागि मतदाता सूची व्यवस्थित गर्ने काम अघि बढाइएको हो।
जिल्ला निर्वाचन कार्यालयका अनुसार नौवटै स्थानीय तहबाट दोहोरो दर्ता भएका १९८ जना र मृत्यु भएका ३९१ जनाको नाम हटाइएको छ।
कार्यालयका सूचना अधिकारी मिलन न्यौपानेका अनुसार गत प्रतिनिधिसभा निर्वाचनपछि जिल्लामा २ हजार २२२ जनाले नयाँ मतदाता नाम दर्ता गराएका छन्। तीमध्ये नागरिकताका आधारमा १ हजार ८८ र राष्ट्रिय परिचयपत्रमार्फत १ हजार १३४ जनाले नाम दर्ता गराएका हुन्।
यस अवधिमा १५० जना मतदाताले जिल्लाभित्र वा जिल्ला बाहिर ठेगाना परिवर्तन गरेका छन्। बसाइँसराइ, विवाहलगायत कारणले मतदाताको ठेगाना परिवर्तन हुने भएकाले सोहीअनुसार विवरण अद्यावधिक गरिएको कार्यालयले जनाएको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुरामा ८७ हजार ८६१ जना मतदाता रहेका थिए। निर्वाचन आयोगले २०८४ वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ।