काठमाडौं । एन्टिमाइक्रोबियल औषधिको अनावश्यक तथा जथाभावी प्रयोगले संक्रमणको उपचार कठिन बनाउनुका साथै स्वास्थ्य प्रणालीमा आर्थिक भार बढाइरहेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले यसको प्रभावकारी नियमनमा जोड दिएकी छन्।
विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह २०२६ का अवसरमा बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उनले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि औषधिको विवेकपूर्ण प्रयोग र जनचेतना विस्तार अपरिहार्य रहेको बताइन्।
मन्त्री मेहताले एएमआर नियन्त्रणसम्बन्धी राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गरिन्। यो समस्या मानव स्वास्थ्यमा मात्र सीमित नरही पशुपन्छी, वनस्पति, खाद्य प्रणाली र वातावरणसँग समेत जोडिएको उनको भनाइ थियो।
उनले औषधिको प्रयोगमा नियामकीय निगरानी बढाउनुका साथै खोप, संक्रमण रोकथाम, सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताका अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताइन्।
कार्यक्रममा मन्त्री मेहताले ‘नेपालका अस्पतालहरूमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगसम्बन्धी सर्वेक्षण’ प्रतिवेदन सार्वजनिक गरिन्। उक्त अध्ययनले अस्पतालहरूमा यस्ता औषधिको प्रयोग र चिकित्सकको सिफारिससम्बन्धी अवस्था पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सर्वेक्षणबाट प्राप्त तथ्याङ्कले अस्पतालमा औषधिको उचित प्रयोग प्रवर्द्धन गर्न र प्रमाणमा आधारित स्वास्थ्य नीति निर्माण गर्न आधार उपलब्ध गराउने विश्वास गरिएको छ।
हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह मनाइन्छ। यस वर्ष ‘एक स्वास्थ्य, एक अभियान: प्रतिरोधको आजैबाट रोकथाम’ नारासहित नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्।