काठमाडौं । सार्वजनिक मञ्चमा राजनीतिक दल र नेताहरूको आलोचना गर्ने नेताहरूको अनौपचारिक संवाद सार्वजनिक भएपछि नयाँ राजनीतिक बहस सुरु भएको छ। चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबीच भएको कुराकानीको भिडियो सामाजिक सञ्जालमा फैलिएसँगै उनीहरूको अभिव्यक्तिमाथि चासो बढेको हो।
चीनको प्रविधि प्रदर्शनीमा रोबोटको प्रदर्शन अवलोकन गरिरहेका बेला सांसदहरूबीच भएको संवाद भिडियोमा सुनिन्छ। जनआस्थाका सम्पादक किशोर श्रेष्ठले फेसबुकमार्फत सार्वजनिक गरेको उक्त भिडियोमा रास्वपा सांसद श्रीराम न्यौपानेले नेपाली कांग्रेसको नेतृत्व शेरबहादुर देउवाकै हातमा रहनुपर्ने आशय व्यक्त गरेको सुनिन्छ।
त्यसपछि प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटाले अदालतको फैसलाबाट देउवाको नेतृत्वले मान्यता पाउनुपर्ने र केपी शर्मा ओली तथा महेश बस्नेत अझ चर्को रूपमा प्रस्तुत हुनुपर्ने आशयको टिप्पणी गरेको सुनिन्छ।
संवादमा सहभागी सांसदहरूले पुराना दलका नेताहरूबीचको राजनीतिक प्रतिस्पर्धाबाट रास्वपालाई फाइदा हुन सक्ने तर त्यसका लागि आफ्नै पार्टीले पनि काम गरेर देखाउनुपर्ने धारणा राखेको सुनिन्छ।
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। यसैबीच सांसद न्यौपानेले पनि आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन्।
न्यौपानेको स्पष्टीकरण : जनमत स्थायी हुँदैन, काम गरेर देखाउनुपर्छ
सांसद न्यौपानेले सामाजिक सञ्जालमार्फत दिएको स्पष्टीकरणमा अनौपचारिक छलफलको मुख्य आशय जनताले दिएको मत र विश्वासलाई कामबाट प्रमाणित गर्नुपर्ने विषय रहेको बताएका छन्।
उनका अनुसार शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको विगतको कार्यशैलीप्रति जनतामा देखिएको असन्तुष्टि तथा परिवर्तनको चाहनाले रास्वपालाई ठूलो जनमत प्राप्त भएको हो।
जनताले दिएको अवसरलाई सुशासन, विकास र प्रभावकारी सेवा प्रवाहमार्फत परिणाममा बदल्न नसके रास्वपाले पनि आगामी दिनमा जनविश्वास गुमाउन सक्ने उनको भनाइ छ।
न्यौपानेले जनताको विश्वास स्थायी नहुने उल्लेख गर्दै इमानदारी, काम र उपलब्धिबाट त्यसलाई निरन्तर प्रमाणित गर्नुपर्ने बताएका छन्।
