काठमाडौँ । नेपाल प्रहरीले आधारभूत तहमा कार्यरत कर्मचारीका समस्या र गुनासो सम्बोधन गर्न केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना गरेको छ।
प्रहरी प्रधान कार्यालयले शुक्रबारदेखि सञ्चालनमा ल्याएको यो संयन्त्रमार्फत तल्लो तहका प्रहरी कर्मचारीले आफूले भोगेका समस्या, असमान व्यवहार, विभेद तथा सेवागत कठिनाइबारे सिधै गुनासो राख्न सक्नेछन्।
प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले डेस्कको उद्घाटन गर्दै प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ कर्मचारीलाई एकैसाथ गुनासो दर्ता गर्ने गुगल फारामको लिंक पठाएका थिए।
प्रहरी नियमावली, २०७१ को नियम १९६ अनुसार कार्यादेश जारी गरी स्थापना गरिएको डेस्कले प्रहरी कर्मचारीको पेसागत तथा सेवागत जीवनलाई सुरक्षित, सम्मानित र न्यायोचित बनाउने लक्ष्य राखेको छ।
उद्घाटनपछि प्रहरी महानिरीक्षक केसीले कर्मचारीका समस्या र गुनासोलाई निष्पक्ष रूपमा सुन्न तथा समयमै उचित सम्बोधन गर्न डेस्कमा खटिएका अधिकारीहरूलाई निर्देशन दिएका छन्।
यस व्यवस्थाले प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीका आवाजलाई संस्थागत रूपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ।