पोखरा । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गण्डकी प्रदेश अधिवेशन आजदेखि पोखरामा सुरु गर्दैछ। दुई दिनसम्म चल्ने अधिवेशनले प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ।
अधिवेशनको उद्घाटन निवर्तमान सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ। उद्घाटनपछि आजै बन्दसत्र सुरु हुने आयोजकले जनाएको छ। अधिवेशनमा प्रदेशभरबाट १ हजार ६०१ भन्दा बढी प्रतिनिधि सहभागी हुने संयोजक मेखलाल श्रेष्ठले जानकारी दिएका छन्।
अधिवेशनमा प्रदेशका ३६ निर्वाचन क्षेत्र, १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ८५ स्थानीय तहका सभापतिसहित विभिन्न तहका प्रतिनिधि सहभागी हुनेछन्। प्रदेश तथा संघका सांसद, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि र मनोनीत प्रतिनिधिको पनि सहभागिता रहनेछ।
अधिवेशनले सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री चयन गर्नेछ। त्यसैगरी ६० सदस्यीय अन्य पदाधिकारी तथा सदस्य संरचनासहित नयाँ प्रदेश कार्यसमिति गठन हुनेछ।
सभापतिमा मेखलाल श्रेष्ठ र पर्वतका विश्वप्रकाश प्रसाईँबीच प्रतिस्पर्धा हुने सम्भावना बलियो देखिएको छ। अन्य पदमा पनि आकांक्षीहरू धेरै रहेकाले नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना कमजोर रहेको नेताहरूको आकलन छ।
अधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भए पनि निर्वाचनको सम्भावनालाई समेत ध्यानमा राखिएको छ। निर्वाचन प्रक्रिया सञ्चालन गर्न नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष अधिवक्ता वीरेन्द्र केसीको संयोजकत्वमा समिति गठन गरिएको छ।
अधिवेशन उद्घाटनअघि पोखराको चिप्लेढुंगाबाट सांस्कृतिक झाँकीसहित र्याली निकाल्ने कार्यक्रम छ। आयोजकले आइतबारसम्म नयाँ कार्यसमिति चयन भइसक्ने अपेक्षा गरेको छ।