काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय खेलकुद प्रतियोगितालाई नियमित आयोजना गर्ने प्रतिबद्धता जनाउँदै यसले नेपाली खेल क्षेत्रको विकासमा नयाँ गति दिने बताएका छन्।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफलताको शुभकामना दिँदै प्रधानमन्त्री शाहले २०३८ सालदेखि हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्य राखिएको प्रतियोगिताका अहिलेसम्म नौवटा संस्करण मात्रै सम्पन्न हुनु दुःखद रहेको बताएका हुन्।
सरकारले अब प्रतियोगितालाई निर्धारित अवधिमै सञ्चालन गर्ने र यसको प्रतिस्पर्धात्मक स्तरसमेत उकास्ने गरी काम गर्ने उनको भनाइ छ।
यसपटक पहिलोपटक कर्णाली प्रदेशले राष्ट्रिय खेलकुदको आयोजना गर्ने अवसर पाएको छ। मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा औपचारिक उद्घाटन हुने प्रतियोगिताका मुख्य खेल भने मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन्।
प्रतियोगितामा आठ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेलकुद अधिकारी सहभागी हुने प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।
उनका अनुसार राष्ट्रिय खेलकुदले कर्णालीमा नयाँ खेल प्रतिभा पहिचान गर्नुका साथै खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने ठूलो अवसर प्रदान गर्नेछ। यसले प्रदेशमा खेल पूर्वाधार विकास र खेलकुद गतिविधि विस्तारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहले प्रतियोगितालाई खेलकुदमा मात्र सीमित नराखी कर्णालीको प्राकृतिक भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावना राष्ट्रिय स्तरमा चिनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
उनले दशौँ राष्ट्रिय खेलकुदले खेल क्षेत्रको विकाससँगै राष्ट्रिय एकता, आपसी सद्भाव र प्रदेशहरूबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सफल आयोजनाको शुभकामना दिएका छन्।