काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। भेटपछि सार्वजनिक गरेको तस्बिरसँगै थापाले ८० वर्षको उमेरमा पनि देउवामा राजनीतिक ऊर्जा र आत्मविश्वास कायमै रहेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा आफ्नो अनुभव सार्वजनिक गर्दै थापाले पछिल्लो राजनीतिक घटनाक्रम र २०८२ भदौ २३ र २४ गतेका घटनासहित समग्र परिस्थितिबारे देउवा स्पष्ट रहेको उल्लेख गरेका छन्।
थापाले देउवालाई लामो राजनीतिक यात्राका अनेक उतारचढाव, सम्मान र अपमान भोगेर पनि निराश नभएका नेताका रूपमा चित्रण गरेका छन्। राजनीतिका विभिन्न कालखण्ड र पात्रहरूको व्यवहार तथा नियत बुझ्ने अनुभव देउवासँग रहेको उनको टिप्पणी छ।
थापाका अनुसार अहिले देउवाको प्रमुख चासो कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने र पार्टीको आधिकारिकता सुनिश्चित गर्ने विषयमा केन्द्रित छ। पार्टीको आधिकारिक चुनाव चिह्न रुख प्राप्त गर्नु नै मुख्य प्राथमिकता रहेकोमा देउवा स्पष्ट र दृढ रहेको उनले बताएका छन्।
देउवाको भेटलाई ‘देउवा दाजुसँग सात क्लिक’ भन्दै तस्बिर सार्वजनिक गरेका थापाले भेटका क्रममा भएका गहन कुराकानी र त्यसका राजनीतिक अर्थ तथा परिणामबारे थप विषय क्रमशः सार्वजनिक गर्दै जाने संकेत गरेका छन्।
यो भेटलाई एमाले र कांग्रेसका नेताबीचको सामान्य शिष्टाचार भेटभन्दा बाहिर पछिल्लो राजनीतिक परिस्थितिको सन्दर्भमा पनि चासोका साथ हेरिएको छ।
