काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमण सफल होस् भन्दै राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामा कुनै सम्झौता नगर्न सुझाव दिएको छ।
प्रधानमन्त्री शाह दुई दिने औपचारिक भ्रमणका लागि आइतबार भारतको नयाँदिल्ली प्रस्थान गर्दैछन्। भ्रमणको पूर्वसन्ध्यामा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीतिक संवाद गर्न आग्रह गरेका हुन्।
आचार्यले यस्ता महत्त्वपूर्ण विदेश भ्रमणअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल तथा राष्ट्रपतिसँग परामर्श गर्नु लोकतान्त्रिक अभ्यास र संस्थागत मर्यादाका दृष्टिले आवश्यक रहेको बताएका छन्। तर, यसपटक त्यस्तो परामर्श नभएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।
उनले भारतसँगको सम्बन्ध पारस्परिक सम्मान र समानताका आधारमा अघि बढाउनुपर्ने उल्लेख गर्दै सीमा तथा भूभागसम्बन्धी विषयमा नेपालको ऐतिहासिक प्रमाण, स्थापित अडान र राष्ट्रिय सहमतिअनुसार स्पष्ट धारणा राख्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
आचार्यले कूटनीति भनेको मित्रवत् सम्बन्ध कायम राख्दै आफ्नो राष्ट्रिय हित र चासोलाई दृढतापूर्वक प्रस्तुत गर्नु भएको बताएका छन्। उनले नेपालको सार्वभौमिकता र स्वाभिमानमा आँच पुग्ने अभिव्यक्ति नदिनसमेत प्रधानमन्त्रीलाई सचेत गराएका छन्।
‘नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनुपर्ने परिस्थिति नआओस्, लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला,’ आचार्यले भनेका छन्।
एमालेले प्रधानमन्त्रीको घोषणापत्रमा उल्लेख गरिएका रोजगारी, बहुपक्षीय कूटनीति र राष्ट्रिय हितका प्रतिबद्धता व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिएको छ।
भ्रमणले दुई देशबीचको विश्वास थप बलियो बनाउनुका साथै नेपाली जनताका अपेक्षा सम्बोधन गर्ने ठोस उपलब्धि हासिल गर्नुपर्ने आचार्यको भनाइ छ।
प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जान लागेका हुन्। सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको भ्रमणका उपलब्धि र समझदारीबारे संसद् तथा जनतालाई जानकारी गराउनुपर्ने अपेक्षा पनि एमालेले राखेको छ।