काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। हालसम्म सभापतिमा गगन थापासहित विभिन्न पदका पदाधिकारी निर्वाचित भएका छन्।
केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिमा श्यामकृष्ण खड्गीलाई पराजित गर्दै गगन थापा निर्वाचित भएका हुन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित भएका छन्। महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोदकुमार चौधरी विजयी भएका छन्। शर्मा र भुसाल निर्विरोध निर्वाचित भएका हुन्।
त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन्। डा. डिला संग्रौला (पन्त) पनि निर्वाचित पदाधिकारीको सूचीमा छिन्।
सहमहामन्त्रीतर्फ प्रतिमा गौतम, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, डा. मो. फिर्दोश आलम, प्रकाश रसाइली, बहादुरसिंह लामा (तामाङ) र जीवनबहादुर शाही विजयी भएका छन्।
निर्वाचन समितिका अनुसार अन्य पदाधिकारीको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ। मतगणना सकिएसँगै कांग्रेसको नयाँ नेतृत्व टोलीको पूर्ण तस्बिर स्पष्ट हुनेछ।