काठमाडौं । दसैँको सार्वजनिक बिदामा पनि काठमाडौं जिल्ला अदालतले अत्यावश्यक न्यायिक सेवा सञ्चालन गर्ने भएको छ। अदालतले सूचना जारी गर्दै बिदाका दिनमा समेत सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखेर सीमित सेवा उपलब्ध गराउने जनाएको हो।
काठमाडौं जिल्ला अदालत, बबरमहलका अनुसार शनिबार, फूलपाती र विजयादशमी अर्थात् टीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ।
बिदाको अवधिमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता, जरुरी पक्राउ पुर्जीको समर्थन, उपस्थित अभियुक्तको म्याद थप तथा पक्राउ अनुमति र कल डिटेल्स (सीडीआर) सम्बन्धी अनुमति प्रदान गर्ने सेवा उपलब्ध हुनेछन्।
त्यस्तै, धरौटी बुझाउन नसकेर थुनामा रहेका प्रतिवादीले धरौटी रकम दाखिला गर्न ल्याएमा रकम बुझ्ने र फैसला अनुसार जरिवाना तिरेर छुट्नुपर्ने व्यक्तिको जरिवाना रकमसमेत बुझ्ने व्यवस्था गरिएको अदालतले जनाएको छ।