काठमाडौं । बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको संख्या बढ्दै गएको छ। घटस्थापनादेखि आजसम्म २ लाख ६२ हजार ७५३ जना यात्रु विभिन्न नाकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उक्त अवधिमा ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत यात्रु बाहिरिएका हुन्। घर फर्किनेको चाप बढेसँगै उपत्यकाका बसपार्क र प्रमुख नाकामा आवागमन बाक्लिएको छ।
बाहिरिने यात्रुमध्ये १ लाख १५ हजार ८६ जना महिला र १ लाख ६१ हजार १६७ जना पुरुष रहेको प्रहरीले जनाएको छ। नागढुङ्गा, फर्पिङ, साँखु, भक्तपुरलगायत नाकाबाट दसैँ मनाउन घर फर्किने क्रम जारी छ।
चाडपर्वमा यात्रुको चाप बढेपछि ट्राफिक प्रहरीले सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि निगरानी बढाएको छ। यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले प्रहरी चौबिसै घण्टा सडकमा खटिएको एसएसपी काफ्लेले बताए।
यातायात व्यवस्था विभागका अनुसार नागढुङ्गा–नौबिसे, मुग्लिन–नारायणगढ, कान्ति लोकपथ र बीपी राजमार्गलगायत प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ।