काठमाडौं । यमनमा चर्किंदो द्वन्द्व र बिग्रँदो सुरक्षा अवस्थाका कारण करिब ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएका छन्। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले युद्धका कारण राहत सामग्री आवश्यक क्षेत्रमा पुर्याउन कठिन भएको भन्दै मानवीय संकट गहिरिने चेतावनी दिएको छ।
डब्लूएफपीका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा अवस्था सबैभन्दा गम्भीर छ। त्यहाँ युद्धका अग्रपंक्ति बदलिइरहने र सडक अवरुद्ध हुने समस्याले राहतकर्मीलाई विस्थापित परिवारसम्म पुग्न कठिन भएको छ।
ताइजमा मात्रै ६ लाखभन्दा बढी मानिस खाद्य सहायताको पर्खाइमा छन्। उनीहरूमध्ये करिब दुई लाख महिला तथा बालबालिका रहेको कार्यक्रमले जनाएको छ। पश्चिमी तटीय क्षेत्रमा पनि राहत वितरण प्रभावित भएको छ।
द्वन्द्व प्रभावित क्षेत्रमा पिठोको मौज्दात घट्दै गएको र स्थानीय बजारमा खाद्यान्न पाउन कठिन हुन थालेको छ। यसले भोकमरीको जोखिम थप बढाएको छ।
डब्लूएफपीका अनुसार यमनभर १ करोड ८० लाखभन्दा बढी मानिससँग पर्याप्त खाना छैन। राहतकर्मीको पहुँच रहेका क्षेत्रमै ७४ प्रतिशत परिवारले दैनिक खानाको आवश्यकता पूरा गर्न नसकेको पछिल्लो अनुगमनले देखाएको छ। यो अहिलेसम्मकै उच्च अनुपात हो।