काठमाडौं । उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गर्न सकिने दुई प्रकारका रणनीतिक क्रुज मिसाइल परीक्षण गरेको छ। बुधबार गरिएको परीक्षणले आफ्नो नौसैनिक क्षमता र प्रतिरोधात्मक हतियारको विश्वसनीयता जाँच्ने उद्देश्य राखेको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ।
बिहीबार सार्वजनिक विवरणअनुसार पूर्वी तटबाट टाढा समुद्रमा परीक्षण गरिएको थियो। त्यस क्रममा वरिष्ठ सैन्य अधिकारीहरू पनि उपस्थित थिए। यद्यपि, परीक्षण गरिएका मिसाइलको क्षमता र प्रक्षेपण प्रक्रियाबारे थप विवरण सार्वजनिक गरिएको छैन।
परीक्षणले छिमेकी मुलुकको सुरक्षामा कुनै प्रतिकूल असर नपारेको उत्तर कोरियाको दाबी छ। पछिल्लो समय उसले आधुनिक मिसाइल पनडुब्बी निर्माण गर्नुका साथै ब्यालेस्टिक र क्रुज मिसाइल विकासलाई तीव्रता दिँदै आएको छ।
उत्तर कोरियाली नेता किम जोङ उनले विभिन्न रणनीतिक मिसाइलको विकासलाई प्राथमिकतामा राखेका छन्। तर, आधुनिक मिसाइल पनडुब्बी पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ वा छैन भन्ने स्पष्ट छैन।
पनडुब्बीबाट मिसाइल प्रहार गर्ने क्षमताले उत्तर कोरियाको समुद्री सैन्य पहुँच विस्तार गर्नुका साथै सम्भावित आक्रमणविरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन सक्ने आकलन गरिएको छ।