काठमाडौं । इन्डोनेसियामा फैलिएको डढेलोको धुवाँ सीमापार फैलिएपछि दक्षिणपूर्वी एसियाका विभिन्न देशमा वायु प्रदूषण गम्भीर बनेको छ। सिंगापुरमा प्रदूषण यस वर्षकै उच्च स्तरमा पुगेको छ भने पूर्वी टिमोरले वायुको गुणस्तर बिग्रिएको भन्दै तीन दिनका लागि विद्यालय बन्द गरेको छ।
रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा पीएम २.५ को एक घण्टे मापन २८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको थियो। यो त्यहाँको राष्ट्रिय वातावरण निकायले ‘अत्यन्त उच्च’ मानेको स्तर हो।
इन्डोनेसियाले पछिल्लो ११ वर्षयताकै गम्भीर डढेलोको सामना गरिरहेको छ। एल निनोका कारण सुक्खा मौसम लम्बिँदा आगो फैलिन थप सहयोग पुगेको छ। विशेषगरी जमिनमुनिको जैविक पदार्थले भरिएको पीट क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न कठिन भइरहेको अधिकारीहरूले बताएका छन्।
इन्डोनेसियाको कालीमन्तान क्षेत्रमा बुधबार वायु प्रदूषण सूचकांक १२०० नाघेको थियो। यो खतरनाक मानिने ३०० को स्तरभन्दा चार गुणाभन्दा बढी हो। अक्टोबर १२ सम्म सात प्रान्तमा डढेलो र तुवाँलोसँग सम्बन्धित श्वासप्रश्वासका बिरामीको संख्या २ लाख ७७ हजार ७५ पुगेको तथ्यांक सार्वजनिक भएको छ।
डढेलो नियन्त्रणका लागि इन्डोनेसियाले ६९ हजारभन्दा बढी अग्निनियन्त्रक परिचालन गरेको छ। राष्ट्रपति प्रबोवो सुबियान्तोले थप स्रोतसाधन प्रयोग गर्न निर्देशन दिएका छन्। आगो निभाउन विशेष रसायन प्रयोग गर्ने विधिको पनि परीक्षण भइरहेको छ।
धुवाँको असर इन्डोनेसियाबाहिर पनि देखिएको छ। यसअघि मलेसियाका केही क्षेत्रमा तुवाँलोका कारण विद्यालय बन्द गर्नुपरेको थियो। सीमापार प्रदूषणको विषय आगामी महिना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) को बैठकमा उठ्ने तयारी भइरहेका बेला इन्डोनेसियामाथि डढेलो नियन्त्रणका लागि दबाब बढेको छ।
मलेसियाका सांसद सायद सादिक सायद अब्दुल रहमानले प्रभावित देशहरूलाई इन्डोनेसियाविरुद्ध संयुक्त कूटनीतिक विरोध जनाउन आग्रह गरेका छन्। डढेलोबाट निस्किएको धुवाँले जनस्वास्थ्य र वातावरणमा मात्र नभई क्षेत्रीय सम्बन्धमा समेत असर पार्दै आएको छ।