काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी सहर पेशावरमा निजी विद्यालयको छत खस्दा २७ विद्यार्थीसहित २८ जनाको मृत्यु भएको छ। बिहीबार भएको दुर्घटनामा अन्य १९ जना घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार अफ्रिदी आबाद क्षेत्रस्थित अल खैर विद्यालयमा विद्यार्थी कक्षाकोठाभित्र रहेका बेला छत खसेको थियो। लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमले मृतक विद्यार्थीमध्ये १८ जना छात्र र दुई जना छात्रा रहेको जानकारी दिएका छन्। उनीहरू सातदेखि १२ वर्ष उमेर समूहका थिए। दुर्घटनामा एक शिक्षिकाको पनि मृत्यु भएको छ।
घटनापछि घाइतेको उपचारका लागि अस्पतालमा आपत्काल घोषणा गरिएको थियो। उद्धारकर्मीले भग्नावशेष हटाउँदै पुरिएकाहरूको खोजी र उद्धार गरेका थिए। उद्धार सेवा रेस्क्यु ११२२ का प्रवक्ता बिलाल अहमद फैजीका अनुसार सुरुमा विद्यार्थी र शिक्षकसहित करिब २० जनालाई अस्पताल पुर्याइएको थियो।
पेशावरका उपआयुक्त अफाक वजिरले विद्यार्थीहरू छत खसेपछि भग्नावशेषमुनि पुरिएको बताएका छन्। घटनाको कारण पत्ता लगाउन खैबर पख्तुनख्वाका गभर्नर फैसल करिम कुन्डीले विस्तृत प्रतिवेदन माग्नुका साथै दुर्घटनाको अनुसन्धान गर्न र घाइतेलाई उचित उपचार उपलब्ध गराउन निर्देशन दिएका छन्।