काठमाडौं । यमनका हुथी विद्रोहीले साउदी अरेबियाका विमानस्थल र तेल पूर्वाधारमाथि आक्रमण थप तीव्र पार्ने चेतावनी दिएका छन्। इरानसमर्थित समूहले साउदी तेल कम्पनी अरामकोको मुख्य परिसरमा लगातार दोस्रो दिन हमला गरेको दाबीसमेत गरेको छ।
हुथीका अनुसार पूर्वी सहर धहरानस्थित अरामको परिसर, रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँको एक तेल प्रशोधन केन्द्रलाई ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल तथा ड्रोनबाट निशाना बनाइएको थियो। यद्यपि, आक्रमणको समय र त्यसबाट भएको क्षतिबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
पछिल्लो एक सातायता साउदी अरेबियामाथि हुथीका आक्रमण बढेको बताइएको छ। गत शनिबार रियाद विमानस्थलमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ।
यमनको द्वन्द्वमा साउदी अरेबियाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारलाई सहयोग गर्दै आएको छ। हुथी समूहले यही भूमिकालाई आक्रमणको कारणका रूपमा प्रस्तुत गरेको छ। खाडी क्षेत्रमा अमेरिका र इरानबीच बढ्दो तनावले पनि क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनाएको छ।
हुथी विद्रोहीले साउदीका विमानस्थल र तेल संयन्त्रलाई सैन्य लक्ष्य घोषणा गर्दै अन्तर्राष्ट्रिय जहाज कम्पनी, सर्वसाधारण तथा श्रमिकलाई ती क्षेत्रबाट हट्न चेतावनी दिएका छन्। यसले साउदीको ऊर्जा पूर्वाधार र क्षेत्रीय सुरक्षामाथिको जोखिम थप बढाएको छ।