काठमाडौं । दृष्टिविहीन व्यक्तिको सुरक्षा, आत्मनिर्भरता र क्षमताबारे जनचेतना फैलाउने उद्देश्यले नेपालमै पहिलोपटक दृष्टिविहीन महिला तथा पुरुषको सेतो छडी वाकाथन प्रतियोगिता सम्पन्न भएको छ।
६३औँ अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवसका अवसरमा आयोजित प्रतियोगितामा १० महिला र १० पुरुष गरी २० जना सहभागी भए। भृकुटीमण्डपबाट सुरु भएको वाकाथन सहिदगेट हुँदै शान्ति वाटिकामा पुगेर टुंगिएको थियो।
पुरुषतर्फ दिपेश थापा प्रथम, सन्दीप थापा द्वितीय र मदन रोकाया तृतीय भए। त्यस्तै, महिलातर्फ जिमावती लामकोलिया प्रथम, उमा चौधरी द्वितीय र सरिता केसी तृतीय स्थानमा रहे।
नेपाल नेत्रहीन सङ्घ, नेत्रहीन युवा सङ्घ नेपाल, नेपाल दृष्टिविहीन कल्याण सङ्घ, नेत्रहीन क्रिकेट सङ्घ नेपाल र नेत्रहीन महिला सङ्घ नेपालको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो।