काठमाडौं । झापाको दमक भेट्रान दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण जहदा भेट्रान कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मोरङको कानेपोखरी–५ स्थित जहदा मैदानमा चारपाने युनाइटेडलाई सडन डेथमा १–० ले हराउँदै दमकले फाइनल यात्रा तय गरेको हो।
निर्धारित ७० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको खेलमा दुवै टोलीले चार–चार गोल गरे। त्यसपछि सडन डेथमा दमकका देश धिमालले गोल गरे भने चारपानेका अजेन तुम्वापोको प्रहार दमकका गोलरक्षक चम्पक केसीले बचाए। उत्कृष्ट प्रदर्शन गरेका केसी म्यान अफ द म्याच घोषित भए।
खेलको २०औँ मिनेटमा मिलन राईले पेनाल्टीमार्फत गोल गर्दै चारपानेलाई अग्रता दिलाएका थिए। मध्यान्तरपछिको अतिरिक्त समयमा सुजन राईले गोल गरेपछि दमकले खेल बराबरीमा ल्याएको थियो।
दमकले अब शनिबार आयोजक जहदा भेट्रानसँग प्रतिस्पर्धा गर्नेछ। नवप्रगतिशील समाजसेवा क्लबको आयोजना र जहदा भेट्रान फुटबल क्लबको संयोजनमा भइरहेको प्रतियोगितामा आठ टोली सहभागी छन्।
प्रतियोगिताको विजेताले दुई लाख एक हजार रुपैयाँ र उपविजेताले एक लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन्।