काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) मा विदेशी खेलाडीको सहभागिता र प्रतियोगिता सञ्चालनसम्बन्धी नियम कडा हुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आईसीसीको मापदण्डअनुसार प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएका छन्।
नयाँ व्यवस्थाअनुसार विदेशी खेलाडीले सम्बन्धित देशको क्रिकेट बोर्डबाट अनिवार्य रूपमा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्नेछ। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका खेलाडीलाई पनि यो नियम लागू हुनेछ। प्रतियोगिता सुरु हुनुअघिको छ महिनाभित्र आईसीसी वा सम्बन्धित क्रिकेट बोर्डको स्वीकृतिबिना अन्य क्रिकेट प्रतियोगिता खेलेका खेलाडी एनपीएलमा सहभागी हुन पाउने छैनन्।
म्याच फिक्सिङ र स्पट फिक्सिङ नियन्त्रणका लागि आईसीसीको भ्रष्टाचारविरोधी आचारसंहिता कडाइका साथ लागू गरिने क्यानले जनाएको छ। नियम उल्लंघन रोक्न खेलाडी, फ्रेन्चाइज टोलीका मालिक र अन्य सरोकारवालालाई जिम्मेवार बनाइनेछ।
यस संस्करणमा प्रत्येक फ्रेन्चाइज टोलीले ६ देखि ८ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछ। तर, मैदानमा उत्रिने अन्तिम ११ खेलाडीमा सात नेपाली र चार विदेशी खेलाडी अनिवार्य हुनुपर्ने व्यवस्था छ।
एनपीएलमा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) लागू गर्ने विषयमा पनि छलफल भइरहेको छ। यसबारे केही दिनभित्र औपचारिक निर्णय सार्वजनिक गरिने सचिव खड्काले बताएका छन्। प्रतियोगिता सकिएको ६० दिनभित्र समीक्षा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था पनि रहेको छ।
यसैबीच, क्यानले नोभेम्बर १९ देखि २१ सम्म काठमाडौंमा आईसीसी एसिया सम्मेलन आयोजना गर्ने तयारी गरेको छ। सम्मेलनमा एसियाका टेस्ट तथा एसोसिएट राष्ट्रका क्रिकेट संघका पदाधिकारी सहभागी हुनेछन्।