ताप्लेजुङ । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
कार्यालयका सूचना अधिकारी निर्मल शेर्पाका अनुसार साउनदेखि असोज मसान्तसम्म एक करोड ११ लाख ३७ हजार ४३४ रुपैयाँ राजस्व उठेको छ। गत आर्थिक वर्षको यही अवधिमा तत्कालीन मालपोत कार्यालयले ५५ लाख ५४ हजार ३१२ रुपैयाँ मात्रै सङ्कलन गरेको थियो।
गत वर्षको तुलनामा यसपटक ५५ लाख ८३ हजार १२२ रुपैयाँ बढी राजस्व सङ्कलन भएको हो। जलविद्युत् आयोजनासम्बन्धी दृष्टिबन्धक र लिखत पारितको सङ्ख्या बढेकाले राजस्व वृद्धि भएको सूचना अधिकारी शेर्पाले बताए।
कार्यालयको तथ्याङ्कअनुसार साउनमा २३ लाख ४ हजार ३३२ रुपैयाँ, भदौमा २८ लाख ९४ हजार २४७ रुपैयाँ र असोजमा ५९ लाख ३८ हजार ८५५ रुपैयाँ राजस्व सङ्कलन भएको छ। तीन महिनाको कुल राजस्वमध्ये ७० लाख ४२ हजार ६४ रुपैयाँ रजिस्ट्रेसन दस्तुरबाट प्राप्त भएको हो।
कार्यालयको राजस्व सङ्कलन पछिल्ला वर्षमा पनि निरन्तर बढ्दै गएको छ। आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ७९ लाख ८ हजार ३७१ रुपैयाँ, २०८१/८२ मा तीन करोड ७२ लाख ३९ हजार ४३७ रुपैयाँ र २०८२/८३ मा चार करोड १९ लाख ६० हजार ८२५ रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्षको सुरुवाती तीन महिनामै एक करोडभन्दा बढी राजस्व उठेकाले गत वर्षको वार्षिक सङ्कलनलाई समेत उछिन्ने अपेक्षा कार्यालयले गरेको छ।