काठमाडौं । समाचार कक्षमै प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने शैलीले शाहीकालीन निरङ्कुशताको झल्को दिएको नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले टिप्पणी गरेका छन्।
शुक्रबार विज्ञप्ति जारी गर्दै थापाले पत्रकारमाथि गैरकानुनी पक्राउ, अनावश्यक धरपकड र सञ्चारगृहमा प्रहरी हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेका हुन्। जनदबाबपछि मात्रै पक्राउ परेका पत्रकारलाई रिहा गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने कांग्रेसको भनाइ छ।
कांग्रेसले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भए प्रेस काउन्सिललगायत स्थापित कानुनी निकायमार्फत निरूपण गर्नुपर्ने जनाएको छ। कानुनी प्रक्रियालाई बेवास्ता गर्दै समाचार कक्षमा प्रहरी परिचालन गर्नु विधिको शासनविपरीत भएको पार्टीको ठहर छ।
विज्ञप्तिमा नियन्त्रणमा लिइएका व्यक्तिको संवैधानिक अधिकार सुरक्षित गर्न, सञ्चारगृहमा अनावश्यक हस्तक्षेप रोक्न र कानुनी प्रक्रियाबाहिर गरिएका कदम सच्याउन सरकारसँग आग्रह गरिएको छ। प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको पक्षमा आफ्नो पार्टी निरन्तर उभिने प्रतिबद्धता पनि कांग्रेसले व्यक्त गरेको छ।