काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भइरहेको वर्षा शुक्रबार पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा दिउँसो अधिकांश स्थानमा बादल लाग्नेछ। कोसी, मधेस र बागमतीका धेरै स्थान तथा गण्डकीका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षा र हिमपात हुनसक्नेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने केही स्थानमा हल्का वर्षा हुने अनुमान छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
मौसममा आएको परिवर्तनको कारण बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ। यद्यपि, शुक्रबार अपराह्नदेखि यी प्रणालीको प्रभाव क्रमशः कमजोर हुँदै जाने अनुमान छ।