काठमाडौं । रुसको बढ्दो हवाई आक्रमणबाट आफ्नो रक्षा गर्न संघर्षरत युक्रेनलाई अमेरिकाले ५०० वटा प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार, यस सम्झौताको मूल्य २.१ अर्ब अमेरिकी डलर रहेको छ।
सम्झौताअन्तर्गत उन्नत पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्र खरिदको खर्च क्यानडा र युरोपेली सहयोगी राष्ट्रहरूले बेहोर्नेछन्। यसका लागि अमेरिकी सरकारी रकम खर्च नहुने जनाइएको छ। क्षेप्यास्त्र अमेरिकी रक्षा सामग्री निर्माता कम्पनी लकहिड मार्टिनले उत्पादन गर्नेछ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी निर्णयको स्वागत गर्दै क्षेप्यास्त्र आफ्नो देशका लागि अत्यन्त आवश्यक रहेको बताएका छन्। तर, आपूर्ति हुन केही वर्ष लाग्न सक्ने उनको भनाइ छ। विश्वभर प्याट्रियट क्षेप्यास्त्रको माग उच्च रहेकाले तत्काल उपलब्ध गराउन चुनौती देखिएको छ।
यसैबीच, रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएको छ। जेलेन्स्कीका अनुसार पछिल्लो दुई सातामा युक्रेनको विद्युत् प्रणालीका महत्त्वपूर्ण संरचनामाथि ३० भन्दा बढी रुसी आक्रमण भएका छन्। हिउँद नजिकिँदै गर्दा यस्ता आक्रमणले ऊर्जा आपूर्तिमा थप दबाब सिर्जना गरेको छ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार अमेरिकाले वार्षिक करिब ६०० वटा प्याट्रियट क्षेप्यास्त्र उत्पादन गर्छ। उत्पादनको तुलनामा विश्वव्यापी माग उच्च रहेकाले युक्रेनले स्वीकृत क्षेप्यास्त्र कहिले प्राप्त गर्छ भन्ने अझै स्पष्ट छैन।