काठमाडौं । बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका छन्। सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा रातिको समयमा सवारी आवागमनसमेत बन्द गरिएको छ।
गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बुढीगण्डकी नदीको बाढीले बगाएपछि दुई वडाबीचको सडक सम्पर्क विच्छेद भएको छ।
त्यस्तै, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली र वडा नम्बर ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा उक्त मार्गबाट आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।
सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औलिसेमासुक्खामा पहिरो खसेपछि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ।
यता, बाढीपहिरोको सम्भावित जोखिमलाई ध्यानमा राखेर कान्तिलोकपथमा राति सवारी चलाउन रोक लगाइएको छ। यात्रुले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आवश्यक देखिएको छ।