काठमाडौं । देशका अधिकांश भूभागमा मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार गण्डकी प्रदेशमा वर्षाको प्रभाव बढी देखिएको छ भने बागमती र कर्णालीका केही क्षेत्रमा पनि पानी परेको छ।
कोशी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिमका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। पछिल्लो तीन घण्टाको विवरणअनुसार तनहुँको साखरमा सबैभन्दा बढी ३६ मिलिमिटर वर्षा मापन भएको छ।
विभागले शनिबार दिउँसो पनि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। काठमाडौं र पोखरामा वर्षाको सम्भावना ८० प्रतिशत रहेको छ। जिरीमा ७० प्रतिशत तथा भैरहवा, सिमरा, ओखलढुङ्गा र जोमसोममा ६० प्रतिशत सम्भावना अनुमान गरिएको छ। विराटनगर र धरानमा भने तुलनात्मक रूपमा हल्का वर्षा हुने देखिएको छ।
तापक्रमतर्फ धनगढी र नेपालगन्जमा अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। जोमसोममा भने अधिकतम तापक्रम १३ देखि १५ डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको छ।
शनिबार राति देशका प्रमुख सहरमा वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ। यद्यपि, जुम्ला र जोमसोममा आंशिक बदली हुन सक्नेछ भने ओखलढुङ्गा र जिरीमा मौसम मुख्यतया सफा रहने अनुमान छ। अन्य स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्छ।
राति जुम्लाको न्यूनतम तापक्रम माइनस २ देखि शून्य डिग्री र जोमसोमको माइनस १ देखि १ डिग्री सेल्सियससम्म रहने अनुमान छ। भैरहवामा भने न्यूनतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने विभागको पूर्वानुमान छ।