काठमाडौं । बढ्दो महँगी, कमजोर सार्वजनिक सेवा र आर्थिक असुरक्षाविरुद्ध फ्रान्स, इटाली र जर्मनीमा युवासहित विभिन्न समूह सडकमा उत्रिएका छन्। तीनै देशका आन्दोलनमा जनजीवन सहज बनाउन र सरकारका नीतिमा सुधार गर्नुपर्ने माग उठे पनि प्रदर्शनको स्वरूप र तीव्रता भने फरक छ।
फ्रान्समा विद्यार्थी, श्रमिक संघ र ‘येलो भेस्ट’ आन्दोलनका समर्थकले इन्धनको मूल्यवृद्धि, शिक्षामा स्रोतसाधनको अभाव र जीवनयापनको बढ्दो खर्चविरुद्ध प्रदर्शन गरिरहेका छन्। पछिल्ला प्रदर्शनमा झडप र तोडफोडसमेत भएपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ। आन्दोलनका कारण व्यापार व्यवसायमा ठूलो आर्थिक क्षति पुगेको विवरण सार्वजनिक भएको छ।
इटालीमा भने विद्यार्थी र श्रमिकले देशव्यापी आमहडतालसहित तलब वृद्धि, सार्वजनिक सेवामा लगानी र महँगी नियन्त्रणको माग गरेका छन्। उनीहरूले बढ्दो सैन्य खर्चको पनि विरोध गरेका छन्। विभिन्न सहरमा प्रदर्शन भए पनि केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच तनाव उत्पन्न भएको थियो।
जर्मनीमा ‘जेन जीले जिम्मेवारी लिन्छ’ अभियानले ३४ सहरमा प्रदर्शन आयोजना गरेको छ। आयोजकले एक लाख ६० हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरेका छन्। युवाले शिक्षामा लगानी बढाउन, जीवनयापनको खर्च घटाउन र अनिवार्य सैन्य सेवाको विरोध गर्नुलाई मुख्य मुद्दा बनाएका छन्।
तीनै देशका आन्दोलनले फरक राजनीतिक तथा आर्थिक परिस्थितिमा पनि युवाको भविष्य, रोजगारी, सार्वजनिक सेवाको गुणस्तर र आर्थिक सुरक्षाबारे बढ्दो चिन्ता देखाएका छन्। सरकारका नीतिप्रति असन्तुष्टि सडकमा व्यक्त भइरहँदा प्रदर्शन शान्तिपूर्ण राख्ने र हिंसा रोक्ने चुनौती पनि बढेको छ।
एजेन्सी