काठमाडौं । डोल्पाको उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएपछि दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। उनीहरू डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट शे–फोक्सुन्डो तालतर्फ जाने क्रममा नुमला पास र वागला पास आसपास हराएको आशंका गरिएको छ।
चक्रवात ‘अर्नब’को प्रभावसँगै हिमपात भएपछि पर्यटकहरू हिउँमा फसेको अनुमान गरिएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिएकी छन्। उद्धार कार्य सहज बनाउन हेलिकप्टरसमेत माग गरिएको छ।
सम्पर्कविहीन पर्यटकमा चार पुरुष र दुई महिला छन्। उक्त क्षेत्रमा सञ्चार सुविधा नहुँदा उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।
जिल्ला प्रशासनका अनुसार अहिले उपल्लो डोल्पामा २४४ जना पर्यटक छन्। मौसम प्रतिकूल रहेकाले प्रशासनले पर्यटकलाई जोखिमपूर्ण बाटोमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।